सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभएको छ । यस कामामा विज्ञापन एजेन्सीको पनि भूमिका महत्वपूर्ण हुनेमा उहाँले जोड दिनुभयो । विज्ञापन बोर्डले आज यहाँ आयोजना गरेको ‘बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम शुभारम्भ गर्दै उहाँले यस्ता कार्यक्रमबाट सरोकार भएका व्यक्ति र निकायका सुझावका आधारमा विज्ञापन क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र स्वच्छ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । विज्ञापन एजेन्सीले स्वनियमनमा बसेर आफ्नो भूमिका निर्वाह गरे सरकार सहजीकरणका लागि सदैव तयार रहेको सचिव डा अर्यालको भनाइ थियो । उहाँले यस कार्यक्रममा प्रस्तुत हुने कार्यपत्रमाथि गरिने छलफलबाट प्राप्त सुझावले विद्यमान कमी कमजोरी सच्याउनका लागि अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो । विज्ञापनको आचारसंहिता विभिन्न चरणमा छलफल र सरोकार निकायका सुझावसमेत समेटी ल्याइएको जानकारी गराउँदै सचिव डा अर्यालले यसमा समयानुसार परिवर्तन र परिमार्जन गर्न सकिने बताउनुभयो । बोर्डले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति तयार गर्न लागेकाले यसमा सुझाव दिन आग्रह गर्दै उहाँले यसले विज्ञापनसम्बन्धी ऐन र नियममा भएका कमी कमजोरी सच्याउन योगदान पुग्ने अपेक्षा गर्नुभयो ।