काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो । तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन । कुनै रेष्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटल तथा रेष्टुराँ छैन । चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ । जसका कारण चहलपहल शून्य जस्तै अवस्थामा पुगेको हो । तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन–नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन । यो नाकाबाट कहिलेकाँही मात्र सामान आयात भने भइरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार भएपछि चीन सरकारले तीन वर्षदेखि बन्द रहेका रसुवागढी र हुम्ला नाका खोलेको छ । हाल रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ भने यारी नाकाबाट आयात भइरहेको छ । तर व्यवसायिक रुपले महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने भएकाले नेपाली व्यापारीहरु तातोपानी नाकाबाटै सामान ल्याउन खोज्छन् ।