गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहनुभएको छ । पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गर्नुभएको छ । पन्थ दम्पतीले ४० माउ बाख्रा पाल्नुभएको छ । उहाँहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गर्नुभएको छ । विदेशमा गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित बाख्रापालन सुरु गरेको नारायणप्रसादले बताउनुभयो । विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा कतारबाट फर्किएर कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने अपेक्षासहित पन्थ दम्पतीले छत्रदेवी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गर्नुभएको हो । घाँस र सुन्तला खेतीबाट वार्षिक रु छ लाख आम्दानी हुँदै आएको नारायणप्रसाद बताउनुहुन्छ । पन्थ दम्पतीले घाँस खेतीअन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला, मूलाटोलगायत बिरुवा रोपण गर्नुभएको छ । “घरपरिवारसँगै बसेर कृषि र पशुपालन गर्दा समय वितेको पत्तै नलाग्दो रहेछ”, उहाँले भन्नुभयो । यसअघि कतारमा मासिक रु एक लाख २० हजारसम्म कमाउने गरेको नारायणप्रसादको भनाइ छ । त्यो सबै त्यागेर उहाँले गाउँघरमै व्यवसाय सुरु गर्नुभएको हो ।