सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् । विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख अवस्थामा पुगेका छन् । कुनै समय नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन् । त्यसैगरी बढी खेलिने कुस्ती, चिक्का, लच्चिकडाँडी चटकी–डाँड र लट्ठीलगायतका रैथाने खेल देखिन छाडेका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत रैथाने खेललाई खेलकुदभित्र समेटेको भए पनि त्यसको आधिकारिकता, संरक्षण र विकासका लागि कुनै पहल गरेको देखिएको छैन । परम्परागत रैथाने खेलप्रति सरकारले कुनै चासो नदेखाएको खेलप्रेमी रमेश कुर्मीकोे गुनासो छ । उहाँले भन्नुभयो, “मधेशका लोकप्रिय खो–खो, आठ–काठ, गोबरतोतो, आइस–पाइस, लङ्गड–गोटी, आँखा छोप्ने, खेल त देख्नै पाइएको छैन ।” बालबालिकामा मोबाइल र इन्टरनेटप्रति बढ्दो ‘क्रेज’का कारण बालापनका रैथाने रोमाञ्चक खेल दिन प्रतिदिन लोप हुँदै गएको मधेश मानव अधिकार गृह (माहुरी–होम) कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तथा अवधि संस्कृतिका स्थानीय अभियानकर्ता रामदयाल ठाकुरले बताउनुभयो ।