मधेसलगायत देशका प्रायः सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुदै गएका छन् । विगत तीन दशकको अवधिमा केही रैथाने खेल लोप भइसकेका र केही लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डन्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन् । त्यसैगरी बढी खेलिने कुस्ती, चिक्का, लच्चिकडाँडी चटकी–डाँड र लट्ठी लगायतका खेल देखिन छाडेका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत रैथाने खेललाई खेलकुदभित्र समेटेको भए पनि त्यसको आधिकारिकता, संरक्षण र विकासका लागि कुनै पहल गरेको देखिएको छैन । परम्परागत रैथाने खेलप्रति सरकारले कुनै चासो नदेखाएको खेलप्रेमी रमेस कुर्मीकोे गुनासो छ । उहाँले भन्नुभयो, “मधेसका लोकप्रिय खो–खो, आठ–काठ, गोबरतोतो, आइस–पाइस, लङ्गड–गोटी, आँखा छोप्ने, खेल त देख्नै पाइएको छैन ।” बालबालिकामा मोबाइल र इन्टरनेटप्रति बढ्दो आकर्षणका कारण बालापनका रैथाने रोमाञ्चक खेल दिन प्रतिदिन लोप हुँदै गएको मधेस मानव अधिकार गृह (माहुरी–होम) कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तथा अवधि संस्कृतिका स्थानीय अभियानकर्ता रामदयाल ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “पातलाई पैसा मानेर त्यसैबाट सरसामानको खरिद बिक्री गर्ने, रूखको हाँगा हल्लाएर मोटर चढेको महुसस गर्ने वा सलाईको बट्टालाई धागोले जोडेर बनाएको टेलिफोनमा साथी सँगी मिलेर कुराकानी गर्दै खेल्ने बालापनका रोमाञ्चक खेल अहिले लोप भएर गएका छन् ।”
