उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार गर्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भए पनि हस्तक्षेप नहुने प्रस्ट पार्नुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायलाई कार्यान्वयन गरेर अघि बढ्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो । कार्यक्रममा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव, न्यून राजस्व परिचालन र मुद्रास्फीति गरी नेपालको अर्थतन्त्रमा तीनवटा मुख्य समस्या रहेको जनाएको थियो । अहिले लगानीयोग्य रकम विस्तारै सहज हुन थालेको, मुद्रास्फीति नियन्त्रण उन्मुख रहेको महाशाखाको भनाइ छ । महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता रु २७ अर्ब रहेको, नेपालमा रु ३२ अर्बसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र गत हप्ता ४५ दिनको लागि रु ५० अर्ब तरलता प्रवाह गरेको जानकारी पनि गराएको थियो ।