रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो । यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिकार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् । सवारी साधनको साथसाथै चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामग्री छ सय ३९, हाइड्रोका सामग्री तीन सय ६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा दुई, इलेक्ट्रिक पार्ट १७, टेलिफोनका सामग्री सात, नस्पाती ११ टिपका साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन् । ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय टिपभन्दा बढी रहेको बताइएको छ । कोभिड सङ्क्रमण सुरु भएसँगै नेपाल–चीन बीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि माल सामग्री भने चिनियाँ ठूला टिफरद्वारा चिनियाँ सवारी चालकबाटै नेपाल भित्र्याई सहयोग हुदै आएको छ