पुस लागेदेखि नै यहाँका पर्यटकीयस्थल वनभोजमय बन्न पुगेका छन् । अरूबेला सार्वजनिक बिदाका दिन घुइँचो देखिने त्यस्ता ठाउँमा अचेल सातै बार चहलपहल हुने गरेको छ । कनकाई नदीको पाँच किलोमिटर वरपर आधा दर्जन ठूला पर्यटकीयस्थल रहेका छन् । उच्च धार्मिक महत्वको कोटीहोम र माईधारमा धार्मिक पर्यटकको घुइँचो लाग्छ भने मनोरञ्जन तथा डुलफिरका लागि यहाँको दोमुखा, धनुषकोटी, जामुनखाडी र हेप्पीलेन्ड नामका प्राकृतिक तथा मानव निर्मित पर्यटकीयस्थल सञ्चालनमा छन् । कनकाई नदीको दोमुखास्थित पूर्वी र पश्चिम किनारमा एक सातायता दैनिक सयभन्दा बढी समूह वनभोजका लागि आउने गरेका छन् । तीर्थस्थलका रुपमा नदीमा पूजापाठका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या वनभोजमा आउनेभन्दा दोब्बर हुने गरेको छ । चुरे पहाड छिचोलेर तराईमा फुत्त निस्किए झैँ लाग्ने कनकाई नदीको कलकल पानी, हरिया प्राकृतिक डाँडाकाँडा, चिल्ला ढुङ्गाको बगर, मानव निर्मित मनोरञ्जन उद्यानले कनकाई नदी वारिपारि आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनबहादुर लावती बताउनुहुन्छ । नदीको पश्चिमतिर शिवसताक्षी–१० मा रहेको दोमुखा पर्यटकीय क्षेत्र विगत तीन दशकदेखि वनभोजका लागि आकर्षक गन्तव्य बन्दै आएको छ । यहाँको प्राकृतिक सौन्दर्य र पर्यटकीय महत्वलाई समेटेर दर्जनौँ सिनेमा, सयौँ वृत्तचित्र र हजारौँ गीति भिडिओ बनिसकेका छन् । पुस लागेयता वनभोजका लागि दैनिक पाँच हजार आन्तरिक पर्यटक दोमुखा क्षेत्रमा आउने गरेको अध्यक्ष लावतीले जानकारी दिनुभयो । पर्यटक सत्कारका लागि यहाँका होटल तथा अन्य व्यवसायीहरुले विभिन्न तालिमसमेत लिएका छन् ।