घरपझोङ गाउँपालिकाद्वारा पाँचवटै वडाका ज्येष्ठ नागरिकका लागि आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ । करिब छ दिनका लागि तय गरिएको उक्त भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका पुरुष ज्येष्ठ नागरिकका लागि रहेको हो । गाउँपालिकाभित्र रहेका पाँचवटै वडाका ज्येष्ठ नागरिकलाई धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा भ्रमण गराउने उद्देश्यसहित करिब एक सय ५० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई पोखरा, लुम्बिनी, मनकामना र चितवनको सौराहासम्म भ्रमण गराइने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । ज्येष्ठ नागरिक भएका कारण बाटोमा समस्या नहोस् भनेर प्रत्येक वडाबाट एक÷एकजना वडा संयोजक र स्वास्थ्यकर्मीलाई खटाइएको अध्यक्ष लालचनले बताउनुभयो । प्रत्येक वर्ष गाउँपालिकाको बजेटबाट कर्मचारी र जनप्रतिनिधि भ्रमणमा जाने प्रचलनलाई तोड्दै यस वर्ष भने ज्येष्ठ नागरिकको सम्मानका लागि धार्मिकस्थल भ्रमण लैजाने निर्र्णय भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गन्तव्य एउटै भए पनि सहज वातावरण मिलाउन प्रत्येक वडाबाट वडाध्यक्षलाई सहजीकरणको जिम्मा दिइएको छ ।” ज्येष्ठ नागरिकका लागि भनेर यस धार्मिक भ्रमणमा पाँचवटै वडाका लागि रु १५ लाख बजेट छुट्याइएको छ । विशेषगरी धार्मिकस्थल भ्रमणार्थ लुम्बिनीमा मात्रै करिब दुई दिन बिताउने समय तालिका रहेको अध्यक्ष लालचनले बताउनुभयो ।