अवैधरुपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौँको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार एम्पुल बरामद गरिएको छ । पछिल्लो केही दिनदेखि लागुऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताउनुभयो । प्रहरीका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट तीन सय मिलीग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित दुई थान तराजु बरामद गरिएको थियो । अनुसन्धानका क्रममा उनलाई प्रदीप राइले लागुऔषध बिक्री गर्न पठाएको खुलेको थियो । उनी झापामा रहेको थापा पाएपछि ब्यूरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौँ पठाएको हो ।