‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । पर्वतमा स्वाइन फिभरको सङ्क्रमण भित्रिन नदिन बङ्गुर आयात–निर्यातमा रोक लगाइएको हो । काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गुर मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि पर्वतका व्यावसायिक कृषकलाई भेला गराएर जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ । सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख रामजी पौडेलले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म सङ्क्रमण भने देखिएको छैन । पौडेलका अनुसार कृषकलाई मासु उपभोग गर्न योग्य बङ्गुर काटेर चिस्यान केद्रमा राख्नसमेत आग्रह गरिएको छ । सङ्क्रमण फैलिनुभन्दा पहिलै स्वास्थ बङ्गुर काटेर चिस्यान केन्द्रमा फ्रिजिङ गर्न भनिए पनि पर्याप्त कोल्ड रुम नहुँदा समस्या भएको छ । यसका लागि स्थानीय तहलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको केन्द्र प्रमुख पौडेलले जानकारी दिनुभयो । केन्द्रका प्रमुख पौडेलले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताउनुभयो । बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख पौडेलको भनाइ छ ।