फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो । चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका–५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पु¥याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, “लामो समयदेखि आरन व्यवसाय गर्दै आउनुभएका उहाँले आधुनिकीकरणमा पु¥याएको योगदानस्वरुप प्रोत्साहन गर्न नगदसहित सम्मान गरेका हौँ ।” फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले जानकारी दिनुभयो । फलाम गाल्न घन हान्न कम्तीमा दुई जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उहाँले बताउनुभयो । युट्युब हेरेर करिब रु ३० हजारको लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ । विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ । आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गर्दै आउनुभएको छ ।

  • आँबुखैरेनीमा घरको नक्सा निःशुल्क आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क बनाउने कामको सुरुआत गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम अनुसार घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क गर्ने घोषणा गरेबमोजिम मङ्गलबारदेखि निःशुल्क नक्शा वितरण सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–३ निवासी मनमाया थापा र अनिता थापाले पहिलो पटक उक्त सेवा लिनुभएको छ । उहाँहरुले घर निर्माणका लागि नक्शा बनाउन गाउँपालिकामा निवेदन दिएकामा गाउँपालिकाले नक्शा निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्यालले उक्त नक्शा सेवाग्राहीलाई हस्तान्तरण गर्नुभएको हो । नक्शा पास तथा भवनको मापदण्डमा रही नयाँ बन्ने घर तथा भवनको नक्शा गाउँपालिकाले नै निःशुल्क रुपमा बनाइदिने गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो । चुमानका अनुसार तीन तल्लासम्मको लागि गाउँपालिकाले नै नक्शा बनाइदिनेछ । नक्शा पासका लागि लाग्ने आवश्यक राजस्व भने तिर्नुपर्नेछ । भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग वर्गका भवन) भूइँ तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई तीन तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागू हुने गाउँपालिकाले जनाएको छ । नक्शा पास नगरी बनाइएका घर तथा भवनमा यो सेवा सुविधा लागू नहुने जनाइएको छ ।