लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ । उहाँ रुप शन्खर पोखरेल मुख्यमन्त्री हुँदा उहाँ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत हुनुभएको थियो । संसद्मा एमालेका २९ सांसद छन् । त्यस्तै संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि डिल्ली चौधरीलाई संसदीय दलको नेतामा चयन गरेको छ । उहाँ दाङ–३ (१)बाट निर्वाचित हुनुभएको हो । चौधरी ग्रामीण, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत हुनुहुन्छ । संसद्मा कांग्रेसका २७ सांसद छन् । त्यस्तैे तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र)ले रोल्पा–१ (१)बाट निर्वाचित जोखबहादुर महरालाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ । संसद्मा माओवादी केन्द्रका नौ सांसद छन् । संसद्मा चार सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आशिषकुमार चौधरीलाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ । उहाँ रुपन्देही–१(१) बाट निर्वाचित सांसद हुनुहुन्छ भने चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले बर्दिया–२(२) बाट निर्वाचित धर्मबहादुर चौधरीलाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ ।