गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९÷८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन गरेको हो । कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि छनोट भएका योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । “स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर उपभोक्ता समिति गठन, प्राविधिक लागत अनुमान तयार पार्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “पाँच योजनाको उपभोक्ता समितिले सम्झौता गरेर निर्माणको काम थालेका छन् ।” रु पाँच÷पाँच लाख बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर–काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपातीदेखि ज्यामरुककोट मन्दिर, मालिका गाउँपालिकाको कुकुरखोरिया–दुरलेकको मेला जाने पदमार्ग र रु सात लाख विनियोजन भएको रघुगङ्गा–३ गायत्री मन्दिरमा उद्यान निर्माण योजनाको काम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरना रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा–सुवा पदमार्ग र अन्धगल्छी–रुप्से छहरा–भूमे मन्दिर पदमार्ग निर्माणका लागि रु १०÷१० लाख विनियोजन गरिएको छ ।