शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आउनुभएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्नुहुन्छ । “जङ्गली जनावर खेतबारीमा पसेको थाहा पाउने बित्तिकै घण्टी बजाउँछौँ”, उहाँले भन्नुभयो, “घण्टी जोरसँग बजाउन सुरु गरेपछि जनावर भाग्छन्, घण्टी बजाउन छाडेको केही बेरमै जनावर खेतमा पुनः आउने गर्दछन्, परिवारका सबै सदस्यले रातभर पालैपालो घण्टी बजाउने गरेका छौँ ।” रातमा परिवारका सदस्य एक दुई घण्टामात्रै सुत्ने गरेको उहाँले बताउनुभयो । नीलगाई, चित्तल र बँदेलले बढी सताउने गरेको उहाँको भनाइ रहेको छ । रखवारी गर्दागर्दै पनि जङ्गली जनावरबाट बाली जागाउने नसकिएको मानबहादुर रानाले बताउनुभयो ।