कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा दुई हजार छ सय ३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्याङ्क छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ३७ वर्षदेखि सुपारी खेती गर्दै आउनुभएका राजेन्द्र मिश्रले धानखेतीको तुलनामा सुपारी खेतीबाट दश गुणा बढी आम्दानी हुने बताउनुभयो । उहाँले डेढ बिघा जमिनमा सुपारी खेती गर्नुभएको छ । थप केही बिघामा सुपारीको बिरुवा रोप्ने तयारी गरिरहनुभएको छ । उहाँले सुपारीको फलबाट मात्र वर्षमा खर्च कटाएर वार्षिक रु तीन लाख आम्दानी गरिरहेको जनाउनुभयो । “कुलो नलाग्ने पाखो एक बिघा जग्गामा ५० मन धान फलाउन ४० मन धानको खर्च लगानी गर्नुपर्छ”, धानसँग सुपारी खेतीको आम्दानी दाँज्दै उहाँले भन्नुभयो, “सुपारी खेतीमा तीन लाख आम्दानी गर्न रु २० हजार जति मलजलमा लगानी गरे पुग्छ ।” उहाँले धानखेती मासेर सुपारीको खेती गर्नुभएको हो । सुपारी नगदे बाली हो । बोटमा फल लाग्न थालेपछि खरिद गर्ने व्यपारी अग्रिम दाम बुझाउन आउने गर्छन् । बिरुवा लगाएको छ वर्षपछि आम्दानी दिने यसको खेती विस्तार र प्रवद्र्धन गर्न सरकारले पनि विभिन्न कार्यक्रम ल्याउने गरेको छ ।