कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो । निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ । हुलाकी सडकको उचाइभन्दा कम उचाइमा निर्माण भएको भवन बाढी र डुबानको जोखिममा रहँदै आएको जनाइएको छ । प्राविधिकको कमजोरीका कारण भवन निर्माण गर्दा ध्यान नपु¥याएका कारण समस्या आएको स्थानीय रामबहादुर चौधरी बताउनुभयो । “भवन निर्माण भयो । जहाँ बस्ती नै छैन त्यो ठाउँमा । त्यो पनि वर्षायाममा डुबान हुने ठाउँमा”, उहाँले भन्नुभयो, “बाढी आयो भने हुलाकी सडक डुब्छ भन्ने थाहा हुँदाहुँदै गहिरोमा भवन निर्माण नहुनुपर्ने हो, त्यो भयो । अब नगरपालिकाले सञ्चालनमा ल्याउन सक्नुपथ्र्याे ।” सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण हुँदा पनि स्थानीयवासीले विरोध गरेका थिए । त्यो ठाउँमा भवन उपयुक्त छैन भन्दै विवादका बीच भवन निर्माण भएको थियो । विवादका बाबजुद पनि नगरपालिकाले भवनको स्वामित्व लिइसकेको छ । नगरपालिका भने भवनको लागत अनुमान नै त्यस्तै भएको दाबी गर्छ । नगरपालिकाका इञ्जीनियर अनिश श्रेष्ठले स्वस्थ्य केन्द्रको भवन निर्माण भएको क्षेत्रमा नभई वडा नं ३ को कार्यालय नजिकै कान्द्रा नदी किनारमा निर्माण हुने गरी ‘डिजाइन’ भएको बताउनुभएको छ । “पहिले कान्द्रा नदीको किनारमा रहेको खाली ठाउँमा सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण गर्ने कुरा थियो । पछि नदीका कारण भवन जोखिममा पर्नसक्ने जनाउँदै त्यहाँ भवन निर्माण नगर्ने कुरा भयो”, उहाँले भन्नुभयो, “अन्तिममा एक जनाले जग्गा दान गर्छु भनेर जग्गा दान दिएपछि पुरानो ठाउँबाट उक्त भवनलाई नयाँ ठाउँमा सारिएको हो ।”