विश्व राजनीतिका विभिन्न आयामहरु कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै तीन प्रधानमन्त्री नियुक्त हुनेदेखि पश्चिमा देशहरुको आग्रह र दबाबका बाबजुत पनि रुसले युक्रेनमाथि आक्रमण गर्नेसम्मका राजनीतिक घटनाक्रहरुको पदचाप यस वर्षले छोडेको छ । उता अमेरिकी संसद्की सभामुखको अनायासै तय भएको ताइवान भ्रमणका कारण चीनले गरेको विरोधको तरङ्ग पनि विश्व राजनीतिकसँगै ठोक्किन पुग्यो । सन् २०२२ मा भएका यस्तै केही राजनीतिक घटनाक्रम र परिवर्तनलाई यहाँ प्रस्तुत गरिएको छ । युक्रेनमाथि रुसको आक्रमण सन् २०२१ को मध्यतिरबाटै रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि सैन्य हमला गर्न लागेको सूचना अमेरिकी गुप्तचर निकायले दिएको हो । अमेरिकी राष्ट्रपति तथा अन्य पश्चिमा नेताहरुले सो सूचना पछ्याए पनि । उनीहरुले रुसले युक्रेनमा आक्रमण गर्न लागेको बताएका थिए । पश्चिमा सञ्चारमाध्यमले यो समाचार प्रकाशमा ल्याए तर रुसी राष्ट्रपति पुटिनले यसको खण्डन गर्नुभयो । उहाँले रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको समाचार सत्य नभएको बताउनुभयो ।