स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो । गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ । स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोलटोलमा पुगेर योजना सम्झौता गरेको वडा नं ३ भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिनुभयो । “गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरु वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँसभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ”, अध्यक्ष मगरले भन्नुभयो । आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिसहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसुस स्थानीयवासीले गरेका छन् ।