नेपालमा सहजरुपमा सवारी चालक अनुमतिपत्र मुस्किल छ । अनुमतिपत्र पाउनु नै युद्ध जिते जस्तै हुने गरेको छ । सेवाग्राहीले पाउने दुःख भनीसाध्ये छैन । कहिले मेसिनले काम नगरेको, कहिले ‘सिष्टम’ नचलेको भन्दै सेवाग्राहीले पाएको हैरानी भोग्नेलाई मात्र थाहा हुन्छ । यातायात व्यवस्था विभागका वरपर भेटिने विचौलियाको राज भनीसाध्यै छैन । सेवाग्राहीले सहजरुपमा सेवा पाउने कुरा पर नै भयो । अनुमतिपत्र पाउनुभन्दा परीक्षामा सहभागी हुन पाउनु नै ठूलो कुरा छ । परीक्षामा उत्तीर्ण भए पनि अनुमतिपत्र लिन कति समय लाग्ने हो, त्यसको कुनै ठेगान छैन । इम्बोस्ड नम्बर प्लेट लिनका लागि उस्तै समस्या छ । सवारी साधनको अवस्थाको परीक्षण गर्ने निकायमा उस्तै समस्या भोग्नुपर्छ, सेवाग्राहीले । सरकार भएको अनुभूति नागरिकले कही कतै पनि गर्न पाएका थिएनन् । नयाँ सरकार गठन भएपछि नागरिकको यही समस्या समाधान गर्ने तत्परता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस ११ गते पदभार ग्रहण गर्दै नागरिकले सहजरुपमा सेवा पाउने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही प्रतिबद्धता कार्यान्वयन गर्ने लक्ष्यका साथ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज काठमाडौँ उपत्यकामा रहेका यातायात कार्यालयको अनुगमन गर्नुभयो । उहाँले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनै कमी हुन नहुने बताउनुभयो । काठमाडौँ उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयको आज अनुगमन/निरीक्षणका क्रममा कार्यालय प्रमुखलाई निर्देशन दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “जनताले धेरै दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन । जनताको हितमा काम गर्नुस् ।” उहाँले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न, नयाँ अनुमति लिने प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन पनि दिनुभयो । श्रेष्ठले भन्नुभयो, “गुणस्तरीय सेवामा ‘नो कम्परमाइज’, नियमपूर्वक काम गर्नुस् ।” कार्यालयमा विचौलियाको बिगबिगी भएको गुनासो आएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले विचौलियाको अन्त्य र विचौलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिनुभयो ।
