बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको अर्को । मध्यपुरथिमि नगरपालिका–७ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) भक्तपुरमा सेवा लिन आज बिहान ६ बजेदेखि लामबद्ध सेवाग्राहीको अवस्थाको दृश्य हो, यो । यस्तो दृश्य आज बिहानको मात्रै होइन, यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रका विभिन्न सेवा लिन आउने सेवाग्राहीको दैनिक देखिने दृश्य हो । पुसको कठाग्रिदो जाडोको पर्वाह नगरी काठमाडौँ उपत्यकादेखि सिन्धुपाल्चोकसम्मका सेवाग्राही दिनरात नै माया मारेर नयाँ सवारी चालक अनुमति पत्र, नवीकरण, लिखित परीक्षा, प्रतिलिपी, स्वास्थ्य परीक्षणलगायत सेवा दिने यस कार्यालयमा सधैँ हुने सेवाग्राहीको भीड कोलाहालले यहाँका स्थानीयवासीसमेत दिक्क भएका छन् ।
