कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ । उहाँले भन्नुभयो “छोराले मोबाइल बढी चलाउने र किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ । आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ । उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन ।” बालबालिकाको मोबाइलप्रतिको लत देखेर अभिभावक चितिन्त बन्न थालेका छन् । करनजस्तै हरि चौधरीलाई पनि यस्तै तनाव छ । हरिका १३ वर्षीय छोरा पनि मोबाइलमा बढी भुल्न थालेका छन् । “मेरो बच्चाको भुल्ने र खेल्ने साधन नै मोबाइल बनेको छ । पहिला फुर्सद हुनेबित्तिकै साथीसँग खेल्न जान्थ्यो”, उहाँले भन्नुभयो, “आजभोलि स्कुलबाट आउनेबित्तिकै मोबाइल खोज्छ । घरभित्र एक्लै मोबाइलमा व्यस्त हुन्छ ।” पछिल्लो समय बालबालिका मोबाइलप्रति बढी नै आकर्षित हुन थालेपछि अभिभावक चिन्तित हुन थालेका छन् । बालबालिकालाई खुसी राख्न मोबाइल दिएका अभिभावक अहिले पछुताउन थालेका छन् । मोबाइलको गलत प्रयोग हुँदा अभिभावकलाई समस्या हुन थालेको छ ।