आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन । कोरोनाको पहिलो र दोस्रो लहरका कारण तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नाका साथै गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा उक्त आयोजना करिब एक वर्ष पछि धकेलिएको थियो । हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले अबको तीन महिनापछि घरघरमा खानेपानी पु¥याइने उपभोक्ता समतिले जनाएको छ । “आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ”, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भन्नुभयो । उहाँले आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको र हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको बताउनुभयो । अध्यक्ष लामाका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको र मेनलाइन तथा शाखा लाइनमा पाइप बिछ्याएर घरघरमा धाराका लागि सामग्री वितरण भइरहेको छ । प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । हाल तेमाल गाउँपालिका–१ सस्यूखर्क र आधावाट, वडा नं ७ को चापखोरी, वाडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घरमा खानेपानी पुर्याइएको उहाँले जानकारी दिनुभयो । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजार बासिन्दाका लागि उक्त आयोजना सञ्चालन गरिएको हो ।