प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौँ उपत्यकामै पुराना दल र अनुभवी नेतालाई समेत पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक पटक सबैलाई चकित तुल्याएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न पेसा–व्यवसायका सिलसिलामा विदेशमा रहेबसेका नेपाली र उनका परिवारजनको बलियो साथ र समर्थन पाएको उक्त दलका उम्मेदवारलाई विजयी तुल्याउन युवा पुस्ता र सामाजिक सञ्जालको समेत ठूलो योगदान रहेको छ । टेलिभिजनका तत्कालीन कार्यक्रम प्रस्तोता रवि लामिछाने अध्यक्ष रहेको उक्त दलका नवनिर्वाचित सांसद समाजका विभिन्न क्षेत्रका ख्याति कमाउनुभएका व्यक्तित्व हुनुहुन्छ । दल दर्ता भएको छ महिनाकै अवधिमा २० उम्मेदवारलाई जिताएर मुलुककै चौथो शक्तिका रूपमा स्थापित गराउँदै रास्वपाका अध्यक्ष लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्न सफल हुनुभएको छ । सोही दलका नेता एवं अनुसन्धानकर्ता मनिष झा भन्नुहुन्छ, “हामीले चुनावबाट प्राप्त गरेको नतिजा भनेको प्रमुख शक्तिबाट निराश भएर पोखिएको अभिमत हो ।” देश हाँक्ने जिम्मेवारीमा रहेका दल र नेताहरूले ठीक ढङ्गबाट राज्य चलाउन नसक्नाको परिणाम निर्वाचनले दिएको बताउँदै उहाँले भन्नुभयो, “ग्राउन्डमा रहेका खेलाडीले राम्रो प्रदर्शनी गर्न नसकेपछि मैदान बाहिर सिटमा बसेका हामीलाई म्यानेजर अर्थात् मतदाताले पालो दिनुभएको हो