केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कास्की कारागारको निरीक्षणमा पुग्दा निमित्त कारागार प्रशासक महेन्द्रबहादुर कुँवरले कारागारले झेलिरहेका समस्याको फेहरिस्त सुनाउनुभयो । क्षमताभन्दा बढी कैदीबन्दी त कारागारको आम समस्या नै भइहाल्यो । त्योबाहेक जस्ताको छानोमुनिबाट प्रशासन धान्नुपरेकोदेखि खानेपानी अभावसम्मको अवस्थालाई कुँवरले मुख्यमन्त्री पोखरेलसमक्ष राख्नुभयो । विसं २०२२ मा स्थापित उक्त कारागारमा चार सय २० जनाको क्षमता रहेकामा सोमबारसम्मको आँकडामा सात सय ९७ कैदीबन्दी छन् । जुन झण्डै दोब्बरले बढी हो । कैदीबन्दीको सङ्ख्याअनुसार भौतिक पूर्वाधार र स्रोतसाधन नहुँदा कारागारमा व्यवस्थापकीय चुनौती थपिँदो छ । कारागारको प्रशासनिक भवन छैन । जस्ताका छानामुनि स–साना कोठामा विषयगत शाखा र तिनमा कार्यरत कर्मचारी छरिएर रहनुपर्ने स्थिति छ । कारागार जस्तो संवेदनशील क्षेत्रको सुरक्षा प्रबन्धका लागि बनाइएका सुरक्षा पोष्ट जीर्ण छन् । बाहिरी पर्खालको उचाइ कम हुँदा सुरक्षा चुनौती छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३२ जना प्रहरी कार्यरत रहेकामा उक्त सङ्ख्या अपुग रहेको जनाइएको छ । दरबन्दी थपेर सुरक्षा जनशक्ति बढाउनुपर्ने कारागार प्रशासनको माग छ । सुरक्षा पोस्टमा तैनाथीदेखि दैनिक अदालत, अस्पताल, कैदीबन्दीको स्थानान्तरण आदि कार्यमा खट्न प्रहरी सङ्ख्या अपुग रहेको हो ।