विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है’ (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो) महोत्तरीको मटिहानी–७ स्थित तीन सय चार वर्ष पुरानो गुरुकुल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय) अवलोकनपश्चात् भारतीय विद्वान पूर्वीय दर्शनका ज्ञाता रमेशचन्द्र टिकमानीले आगन्तुक पुस्तिकामा लेख्नुभयो । गत वैशाख ६ गते विद्यालय अवलोकनका लागि प्राध्यापक, अन्वेषक र विश्लेषकहरुको भारतीय टोली साथ आउनुभएका टिकमानीले भारत वर्ष (हालको दक्षिण पूर्वी एसिया क्षेत्र, आर्यावर्त) को पुरातन भाषा, साहित्यको विकास र संरक्षणमा राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको योगदानको स्मरण गर्नुभएको छ । प्राचीन र वैज्ञानिक भाषा संस्कृतको संवद्र्धनमा विद्यालयको योगदानको टिकमानीले सराहना गर्नुभएको छ । गत वर्ष मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यो विद्यालय अवलोकन गर्नु भएपछि यहाँ पाहुना आउने क्रम ह्वात्तै बढेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको आगमनले विद्यालयको ओज बढेको प्रधानाध्यापक ईश्वरी पौडेल बताउनुहुन्छ । “बितेको एक वर्षभित्रै दुई सयभन्दा बढी विशिष्ट व्यक्तित्वको आगमन भएको छ, हामीले विद्यालयको अवस्थाबारे अवगत गराउन पाएका छौँ”, पौडेल भन्नुहुन्छ । देश विदेशका विशिष्ट व्यक्तित्व र विभिन्न क्षेत्रका अध्येताहरुको बाक्लो आगमनले यो विद्यालय शैक्षिक पर्यटनको गन्तव्य बन्दै गएकामा मटिहानीवासी खुसी छन् ।