झापाको दमक–१० सेतुमारीमा एक दशकअघिबाट सुरु गरिएको सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले विसं २०६७ बाट बजार सञ्चालनमा ल्याइएको थियो । आफ्नै उत्पादन आफ्नै बजारको अवधारणाअनुरुप सेतुमारीमा बजार सञ्चालन गर्ने सोचले बजारको अवधारणा अघि बढाइएको भए पनि बजारले नियमितता नपाउँदा बजारस्थल बेवारिसे बन्न पुगेको दमक–१० पूर्ववडाध्यक्ष बोधराज न्यौपानेले बताउनुभयो । हरेक हप्ताको मङ्गलबार लाग्ने गरी बजारको सुरुआत गरेको भए पनि त्यस कार्यले निरन्तरता पाउन नसक्नु सिङ्गो १० नं वडाकै लागि दुर्भाग्य भएको उहाँको भनाइ छ । सेतुमारी बजारमा साप्ताहिक पशु हाटसमेत लाग्ने गरेको स्थानीयवासी बताउँछन् । सो स्थानमा बजार सञ्चालनका लागि स्थानीय दाताले नौ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । विशेष कारण केही समयपछि बजार सञ्चालन आउन नसक्दा त्यसैको निरन्तरस्वरुप एक दशक लामो समय बितिसक्दा पनि अहिलेसम्म यस स्थानमा पुनः बजार लाग्न सकिरहेको छैन । सेतुमारी बजार सञ्चालनमा आउँदा खुसी बनेका यस क्षेत्रका सर्वसाधारणको त्यो खुसी बजार बन्द भएसँगै अहिले निराशामा परिणत भएको छ । स्थानीयस्तरमा नै बजार सञ्चालनमा आउला र गाउँघरमा उत्पादित कृषि उपजले सहज बजार पाउला भन्ने आशा गरेका थियौँ तर व्यवहारमा सो कुरा हुन नसक्नु दुःखद् भएको जग्गादाता मध्येका देवेन्द्र श्रेष्ठले गुनासो गर्नुहुन्छ । “हामीले आज बजारको अवस्था यस्तो होला भन्नेसम्मको कल्पना पनि गरेका थिएनौँ तर दुर्भाग्य नै भन्नुपर्छ आज सेतुमारी बजारको अतित्वनै नामेटजस्तै हुँदैछ”, उहाँले दुःखेसो पोख्नुभयो ।