सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला र गरेको हो । साथै आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताउनुभयो । बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरुले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए । न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी जनाइएको छ । शत्रुघनका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही गाउँका ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय वासुदेव मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र वंशराज मण्डललाई जनही रु २० हजार जरिवाना गर्ने फैसला भएको छ । निजहरू सबैबाट समेत जनही रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको अदालतका श्रेस्तेदार मास्केले बताउनुभयो ।