भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि घरमै नागरिकता पाउँदा औधी खुसी भएको बताउनुभयो । श्रेष्ठ मात्रै होइन उहाँको सिङ्गो परिवार नै खुसी भएको छ । नागरिकता देखाउँदै श्रेष्ठले भन्नुभयो “नागरिकता लिन जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु र लाइनमा बस्नु पनि परेन, घरमै नागरिकताको प्रमाणपत्र ल्याइदिनुभयो, नागरिकता भएपछि अब पूर्ण अपाङ्गता भत्ता लिन सक्ने भएकी छु, म निकै खुसी छु ।” सुप्रिनाकी आमा सुशीला श्रेष्ठले छोरीले नागरिकता पाउँदा निकै खुसी लागेको बताउनुभयो । “छोरी हिँडडुल गर्न सक्दिन, नागरिकता कसरी पाउली भन्ने चिन्ता थियो”, उहाँले भन्नुभयो, “तर सिडिओ साब नै घरैमा आएर नागरिकता दिँदा निकै खुसी लागेको छ ।” अपाङ्ग हुँदाको पीडा भोग्ने हामीलाई नागरिकता वितरणले औषधिको काम गरेको उहाँले सुनाउनुभयो । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले उक्त सेवा सुरु गरेपछि श्रेष्ठले विना कुनै झन्झट नागरिकता पाउनुभएको हो । सरकारी काम भन्ने वित्तिकै समयमै काम नहुने, लामो लाइन लाग्नुपर्ने झण्झटिलो हुन्छ भन्ने मानसिकतालाई चिर्दै शर्माले सेवा प्रवाहलाई चुस्त बनाउन उक्त अभियान सुरु गर्नुभएको हो ।