खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने रु तीन सय ५० असुल गर्दै आएका छन् । “सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ”, उहाँले भन्नुभयो, “तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?” खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउनुहुन्छ । “घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् ।” उहाँका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । “कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो”, उहाँले भन्नुभयो, “जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।” खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । “प्रतिकिलोमिटर रु १२ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो”, खप्तडछान्ना–५ का राजेश कार्कीले भन्नुभयो, “त्यो बेलामा कालुखेतीबाट रु एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।”
