नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठसहित त्यसको कटानमा संलग्न रहेको अभियोगमा स्थानीयवासी चन्द्रबहादुर तामाङ र नन्दबहादुर तामाङलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ । उक्त काठ काट्न लगाउने र ओसारपसारमा संलग्न सवारीसाधन फरार भएकाले खोजी भइरहेको डिभिजनल वन अधिकृत कोइरालाले जानकारी दिनुभयो । त्यस लगत्तै यही शनिबार राति ककनी गाउँपालिका–७ चतुराले हुदैँ लैजान लागेको ४२ गोलिया सालको काठ सव डिभिजन कार्यालय ककनीले पक्राउ गरेर कारबाहीको लागि आइतबार डिभिजन वन कार्यालयमा बुझाएको छ । जिल्लाको लिँखु गाउँपालिका–३ को सूर्यमतिमा कटान गरेर ककनीतर्फ लैजान लागेको उक्त काठ बोक्ने गाडी र संलग्न व्यक्ति भने फरार भएकाले खोजी भइरहेको बताइएको छ ।