कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७५ पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म पुल निर्माण नहुँदा यहाँका स्थानीयवासीले सास्ती खेप्दै आउनुपरेको छ । सात वर्षदेखि खोलामा तीनवटा पिल्लर मात्रै छन् । एउटा पिल्लरको काम अधुरै छ । त्योबाहेक अरू कुनै काम हुन सकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरले भने पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण समयमा सम्पन्न हुन नसकेको जनाएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका सूचना अधिकृत पियुष चटौतले पुलको जगमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बन्न लागेको बताउनुभयो । “पुलको फाउन्डेसनमा समस्या आएपछि अर्को स्थानमा पुल बनाउन निर्माण कम्पनीलाई पत्राचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “सडक कार्यालयले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले चासो नदेखाउँदा निर्माणमा ढिलाइ भएको हो ।” सडक डिभिजन कार्यालयका अनुसार २०७७ माघ २५ मा पुलको काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा भए पनि पछि २०८० साल असार मसान्तसम्म म्याद थप भएको छ । म्याद थप भए पनि निर्माण कम्पनीले हालसम्म पुल निर्माणको काम भने सुरु गरेको छैन ।