साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभी, काठमाडौँको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको जनाउँदै वडा नं १ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिने गरी ठेक्का सम्झौता रद्द गर्न माग गरेका हुन् । बाँझेच्यानडाँडाका तीन सय तीनको हस्ताक्षरसहितको ज्ञापनपत्र आइतबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलीखेल, काभ्रेलाई पठाउँदै भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभीबाट सडक कालोपत्रेको बाँकी काम सम्पन्न गर्ने कुनै छाँट नदेखिएकाले ठेक्का तोड्नुको विकल्प नभएको स्थानीय बासिन्दाले बताएका छन् । मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभागसमक्ष सिफारिस गरिसकेको अवस्थामा स्थानीय बासिन्दाले सो निर्णयमा फेरबदल नगर्न ध्यानाकर्षण गराएका हुन् । स्थानीय बासिन्दाको तर्फबाट पूर्वशिक्षक रघुनन्द राईले बुझाउनुभएको ज्ञापनपत्रमा भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभीकै पक्षमा पुनः म्याद थप भए सडक कालोपत्रको काम थप अलपत्र पर्ने दावी गरिएको छ । चार पटक म्याद थप हुँदा पनि कालोपत्रको काम गर्न नसकेको ठेकेदारबाट थप कामको अपेक्षा गर्न सकिने अवस्था नभएको उनीहरुले बताएका छन् ।