विद्युत्जन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि ललितपुर महानगरपालिकाले गृहिणी महिलालाई सचेतना तालिम दिइरहेको छ । ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाले ललितपुरका २९ वटै वडाका गृहिणीलाई घरेलु आगलागी जोखिम नियन्त्रणका उपायबारे सचेतना तालिम सञ्चालन गरेको हो । विपद् व्यवस्थापन शाखाको आयोजना, जुद्ध वारुण यन्त्रको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयात्मक सहयोगमा आइतबार वडा नं २३ कार्यालय धापाखेल र सोमबार वडा नंं २४ नागदहमा विद्युत्जन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना तालिम दिइएको हो । तालिममा प्राध्यापक डा श्रीराम शर्माले एलपी ग्यासको आगलागी नियन्त्रण विधि, फायर एक्सटिङगिसरको प्रयोग विधि, फायर ब्ल्याङ्केटको प्रयोग विधि र विद्युतीय गड्बडीबाट हुने आगलागीका बारेमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै जुद्ध वारुण यन्त्रका अग्नि नियन्त्रक गणेश पौडेलले आगलागी हुन नदिन के गर्ने र कस्ता सावधानी अपनाउने, आगलागी भएपश्चात के गर्ने र कसरी सुरक्षित रहने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो । साउथ एसियन लाइट्निङ नेटवर्कका विद्युतीय सुरक्षासम्बन्धी इन्जिनियर श्रीयोग शर्माले विद्युतीय गडबडी हुन नदिन र आगलागी हुने अवस्था सृजना नहोस् भन्नका लागि कस्ता विद्युतीय सामग्रीहरू प्रयोग गर्ने भन्ने विषयमा सचेतना सहजीकरण गर्नुभएको थियो । ललितपुर महानगरको विपद् व्यवस्थापन शाखाले गत वर्ष १० वटा वडा ६, ७, ८, ९, १२, २२, २६, २७, २८ र २९ मा यस्ता कार्यक्रम गरेको र यस वर्ष बाँकी १९ वटा वडामा सञ्चालन गर्ने लक्ष्य रहेको इन्जिनियर हरिशचन्द्र लामिछानेले जानकारी दिनुभयो ।