गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा लाप्राकका भूकम्पपीडितकोे पुनःस्थापनाका लागि निर्माण गरिएको नमूना बस्तीका पाँच सय ७३ मध्ये पाँच सय ५४ परिवारले लालपुर्जा प्राप्त गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । बाँकी रहेका भूकम्पपीडित परिवारलाई पनि केही समयभित्रै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले लाप्राकको पुरानो बस्ती ध्वस्त बनाएकाले बस्ती नै पुनःस्थापना गर्नुपरेको थियो । त्यसका लागि गुप्सीपाखामा रहेको सरकारी जग्गामा मन्त्रिपरिष्दबाट स्वीकृति लिएर एकीकृत बस्ती निर्माण गरिएको हो । भूकम्पको झण्डै आठ वर्षपछि भूकम्पपीडितले लालपुर्जा पाएका हुन् । गाउँपालिकाले दोस्रो चरणमा यहीँ पुस महिनामा थप दुई सय ७४ जनालाई लालपुर्जा वितरण गरेको उहाँले बताउनुभयो । उनीहरूलाई २०७७ सालदेखि नै लालपुर्जा वितरण थालिएको भए पनि लामो समयदेखि वितरण रोकिएको थियो । पहिलो चरणमा दुई सय ८० घरपरिवारले लालपुर्जा पाएका थिए । एकीकृत बस्तीका भूकम्पपीडितलाई लालपुर्जा वितरणका लागि जिल्ला मालपोत कार्यालयको टोली लाप्राक नै पुगेको थियो ।
