कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँका रामदल रानाको साँढे चार बिघा जमिन दोदा नदीले कटान ग¥यो । नदीले जमिन बगरमा परिणत गरेपछि केही समय समस्यामा परेका राना अहिले बगरमा बेसार, सुनकागती, अदुवा खेती गरेर मसला उत्पादनमा गर्नुहुन्छ । नदीको बगर जोगाउँदै ‘बगर टू बगैँचा’ भन्ने अवधारणा अनुरुप गाउँका किसान मिलेर बेसार उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी कटान जोगाउन जैविक तटवन्ध बनाइएपनि अझै पक्की तटबन्ध बनाउन कुनै निकायबाट पहल भएको छैन् ।” वर्षामा बाढीको त्रासदी हुने गरेको खल्लाजाईमा डुबान तथा कटानको प्रमुख समस्या रहेको रानाको भनाइ छ । “अहिले अढाई बिघा जमिन बाँकी छ”, रानाले भन्नुभयो,“गाउँका ३५ जना किसान मिलेर बेसार उत्पादन गरेर बिक्री वितरणमा जुटेका छौँ ।” अहिले खल्लाजाई क्षेत्रको दोदा नदीमा पर्ने करिब दुई किलोमिटर क्षेत्रफलको बगरमा व्यक्तिगत र सामूहिक बेसार खेती गरिएको छ । “बेसार उत्पादन गरी बिक्रिबाट रु ६० हजार बचत भएकोछ”, स्थानीय अमन रानाले भन्नुभयो,“बेसारसँगै कतिपयले बगरमा उखुखेती समेत गरेका छन् ।” दोदा किसान समूह सञ्चालनमा ल्याएका राना समुदायका किसानले बगर संरक्षणका साथै आम्दानीको स्रोत बनेकाले बेसारखेती गरिरहेको बताएका छन् । “सुरुमा यहाँ दोदाबाट जोगिन गाउँमा सामुदायिक विपत् व्यवस्थापन समिति बनायौंँ”, रानाले भन्नुभयो,“पछि बगर संरक्षण र आयमूलक काममा पनि अग्रसर हुँदै आयौंँ ।”