पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् । विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकै बीच विमानस्थल सञ्चालनमा आएपनि यसले पोखरेलीलाई कति उत्साहित बनाएको थियो भन्ने कुरालाई आइतबार उर्लेको पोखरेलीको जनसागरले प्रष्ट सङ्केत गर्दथ्यो । हजारौँ पोखरेलीको सहभागितामा भव्यताका साथ उद्घाटन भएको विमानस्थल सञ्चालनमा आएसँगै यसले आगामी दिनमा यसले गण्डकी प्रदेशसँगै समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने विषय गम्भीरताका साथ उठेको छ । हालसम्मको अवस्थाले गण्डकी प्रदेश उद्योग व्यवसायका क्षेत्रमा पछि नै रहेको छ । नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा हालसम्म आन्तरिक उडानका लागि सानो क्षमताको घरेलु विमानस्थल रहीआएकोमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्यसले अन्य सम्भावनालाई उजागर गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउनुहुन्छ । हाल पोखराबाट लगभग आधा घण्टाको दूरीमा मात्र उडान भइरहेका अवस्थामा अब भने यहाँबाट सिधैँ छ घण्टासम्मको दूरीमा यात्रा गर्न सकिने भएको छ । उद्घाटन समारोहमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो विमानस्थलबाट पाँच÷छ घण्टाको दूरीको यात्रा गर्न सकिने भनिरहँदा पोखरेलीले लगातार ताली वर्षाएर खुसी व्यक्त गरेका थिए ।