राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो । सन् २०१४ मा सुरु भएको विद्युत् गृह निर्माणको काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको समयावधि पनि सर्दै गएको छ । आयोजना निर्माणमा देखिँदै आएको समस्याका कारण समयमै काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको काम प्रभावित भएको छ । हालसम्म आयोजना पाँचौँ पटक म्याद थप भएको छ । पछिल्लो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म रहेको छ । तर पछिल्लो थप गरिएको समयमा पनि विद्युत्गृह निर्माण सम्पन्न नहुने सम्भावना बढेको छ । आयोजनाका प्रमुख केदार श्रेष्ठले २०७८ वैशाखमा नयाँ वर्षको अवसर पारेर विद्युत् गृहमा पानी खसाउने योजना बनाउनुभएको थियो । त्यो योजना सफल नभएपछि आयोजनाको काम एक वर्ष लम्बियो । पछिल्लो पटक असोज महिनामा आएको बाढीले विद्युत्गृह निर्माणको काममा क्षति पु¥याएका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिनुभयो । उहाँले जडान भइसकेका उपकरण पुनः मर्मत गर्नुपर्ने भएकाले काममा ढिलाइ बताउनुभयो । “जडान भएको सामान बाढीले क्षति पु¥याएपछि झिकेर मर्मत गर्नुपर्ने भयो”, सूचना अधिकारी लासिबाले भन्नुभयो, “त्यसभन्दा पहिले विद्युत्को सामान आयातमा समय लागेकाले पनि समयमा काम सम्पन्न हुनसकेन ।”