म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ लगानी गरेर पूरा गरिदिएको हो । बेँसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पु¥याउन स्थानीयवासीले चन्दा सङ्कलन गरेर प्रयास गरे पनि अक्करे भिरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णताः दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिनुभयो । बेँसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भिरमा मात्रै ११ घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पु¥याइएको छ । यस भिरमा मात्रै सडक निर्माण गर्न तीन वर्ष बढी समय लागेको थियो । यस आयोजनाले बेँसीबाट लेकगाउँसम्मको पँच किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको हो । सडकको पहुँच पुगेपछि वडा, पालिका र सदरमुकाम आउँदा पैदल हिँड्नुपर्ने झण्झट हटेको छ भने सामग्री ढुवानीमा समेत सहज भएको स्थानीयवासी बताउँछन् । आयोजनाको पहुँचमार्गका लागि कूल १८ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ । यस आयोजनाले स्थानीयवासीलाई दक्षता र क्षमताअनुसारको रोजगारको अवसरसमेत दिएको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो । सडक निर्माण, स्तरोन्नति, पाइप लाइनको पूर्वाधार निर्माणलगायतका क्षेत्रमा स्थानीयवासीले नै नेतृत्व लिएर काम गरिरहेको इन्जिनियर भट्टराईले बताउनुभयो । “हामीले रोजगारको क्षेत्रमा पनि स्थानीयवासीलाई प्राथमिकता दिएका छौँ, स्थानीय युवा क्लब, विद्यालय र आमा समूहका सामाजिक गतिविधिमा समेत सहकार्य गरेका छौँ”, उहाँले भन्नुभयो ।
