गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो । स्थानीय ढुङ्गाको प्रयोग गरेर कलात्मक पदमार्ग तयार गरिएको कोट पूजा व्यवस्थापन समितिका सचिव गुञ्जबहादुर खत्रीले बताउनुभयो । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दश लाख अनुदान र नगरपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको हो । झण्डै १३ लाख खर्चेर पूरा गरिएको पदमार्गमा स्थानीयले तीन लाख बढीको श्रमदान गरेका थिए । एक सय ४४ सिँढी रहेको पदमार्ग निर्माणका लागि ढाँडको पाखो सामुदायिक वनमा रहेको स्थानीय कालो ढुङ्गाको प्रयोग गरिएको खत्रीले जानकारी दिनुभयो । “पदमार्ग र कोटघर वरपरका संरचनासमेत मल्लकालीन कलाशैली प्रयोग गरेर तयार गरेका हौँ”, उहाँले भन्नुभयो, “बागलुङमा कालिगड नपाएपछि म्याग्दी र गोरखाबाट ल्याएर ढुङ्गा तयार गरिएको थियो ।” कालो रङको कटान गर्न सजिलो भएकाले उपभोक्ताले उक्त ढुङ्गा प्रयोगमा ल्याएका हुन् । पदमार्गमा ढुङ्गाको जडान बिन्दुमा मात्रै बालुवा सिमेन्टको प्रयोग गरिएको छ भने बाँकी सबै संरचना स्थानीय ढुङ्गाको प्रयोगबाट तयार भएका छन् । चार वर्षअघि नगरपालिकाले ‘गौरवको आयोजना’ को रुपमा निर्माण थालेको कोटघर पुग्ने पदमार्ग र तारवार तथा पर्खाल निर्माणको काम कोरोना महामारीका कराण रोकिएर अलपत्र परेको थियो । रु ५० लाखको लागतमा निर्माण थालिएको काम कोरोना महामारीका कारणबीचमै रोकिएर रु १२ लाख फिर्ता भएपछि पदमार्ग अलपत्र थियो ।
