घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरकी निशा चौधरी पूर्वकमलरी हुनुहुन्छ । विसं २०६४ मा कमलरीबाट मुक्त भएपछि उहाँले आइएम नेपाल र मुक्त कमलरी विकास मञ्चले दिएको कुखुरा काट्ने तालिम गर्नुभयो । सोही तालिमले उहाँलाई व्यवसायी बनाएको छ । घोराही–४ लक्ष्मीपुरमा मासिक रु तीन हजार दिने सर्तमा कोठा भाडामा लिएर निशा फ्रेस हाउसका नाममा उहाँले कुखुरा काट्न सुरु गर्नुभयो । पहिले एक्लै सुरु गरेको व्यवसाय अहिले श्रीमान्ले पनि सघाउने गरेको उहाँले बताउनुभयो । भारतमा कामका लागि गएका श्रीमान् गोपाल चौधरीलाई गत वर्ष घर बोलाएर सँगसँगै व्यवसाय गरेको उहाँँको भनाइ छ । मुक्तकमलरी विकास मञ्च र आइएम नेपालको सहयोगमा श्री उज्ज्वल पशुपालन महिला समूह गठन गरिएको छ । सो संस्थामा सदस्य रहेर उहाँँले मासिक बचत र अन्य जीवन उपयोगी सीप सिकेको बताउनुभयो । स्वदेशमा केही गर्नुपर्छ भन्ने कुरा पनि समूहमा सिकेकाले घर बाहिर रहेका श्रीमान्लाई घर बोलाएको उहाँँको भनाइ छ । धेरै कुरा जान्न मिलेको र व्यवसाय गर्न हौसला मिलेको चार जनाको परिवारलाई सजिलोसँग खर्च पुगेको छ । घरखर्च र पढाइखर्च सबै फ्रेस हाउसको आम्दानीले धानेको उहाँले बताउनुभयो । अब श्रीमान्श्रीमती दुवै मिलेर व्यवसायलाई थप गरेर स्वदेशमा आम्दानी गर्ने विचार उहाँको छ ।