गाउँगाउँमा सडक पुग्यो । सडकसँगै आधुनिकता पनि गाउँमा पुग्यो । केही वर्ष अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले सर्लक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरु देखिन्थे । सहर बजारबाट जोकोही गाउँमा पुग्दा ति घरहरुले मनै लोभ्याउने गर्थे । परम्परागत रुपमा बनेका ति घरले धेरैलाई आकर्षित गरेको पाइन्थ्यो । उति बेला गाउँमा अहिलेको जस्तो मोटरगाडी गुड्दैनथे । मान्छेहरु पैदल नै हिँड्थे । तर अहिले सडक नपुगेका गाउँहरु छैनन् । सडकसँगै गाउँ पुगेको आधुनिकताले मौलिकता हराउँदै गएको छ । दिनानुदिन गाउँमा सडक निर्माण भइरहेका छन् । सडकको प्रभाव ति पुराना परम्परागत घरमा परेको छ । परम्परागत घर र ढुङ्गे घर गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमधम सिमेन्ट र कङ्क्रिटका घर ठडिदै छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाले छाउन थालेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले मानिस सजग र सचेत हुँदै गएको हुँदा नयाँ–नयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेको बताउनुभयो । उहाँले परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताउनुभयो । प्रमुख श्रेष्ठले परम्परागत घर सबै जोखिममा नहुने भन्दै त्यस्ता घर तथा भवन बनाउँदा मापदण्ड चाही अपनाउनुपर्ने बताउनुहुन्छ । “मानिसको सोँच परिवर्तन हुँदै गएको छ, उनीहरु प्रविधिसँग जोडिन थाले । नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न थाले । त्यसैले ढुङ्गे घर कम बन्न थाले”, प्रमुख श्रेष्ठले भन्नुभयो, “पहिले ग्रामीण क्षेत्रमा सडकको सुविधा थिएन, अहिले छ, त्यसैले पनि गाउँमा परम्परागत कम र आधुनिक घर बढे ।”