खप्तडछान्ना गाउँपालिकाले पालिकाभर चल्ने जीपको भाडादर छ महिनापछि कार्यान्वयमा ल्याएको छ । गत असारमा गरेको भाडादरको निर्णय सोमबार अपराह्नदेखि कार्यान्वयनमा ल्याएको हो । सोमबार बिहान राष्ट्रिय समाचार समिति (रासस) मार्फत देशभरका मिडियामा ‘१५ किलोमिटर सडकमा रु पाँच सय ५० गाडी भाडा’ शीर्षकको समाचार प्रकाशन भएपछि सोमबारदेखि नै छ महिना पहिलेको निर्णय कार्यान्वयन गरेको हो । गाउँपालिकाले अध्यक्ष उत्तम रोकाया र उपाध्यक्ष विष्णु थापासहितको उपस्थितिमा आर्थिक वर्ष २०७९÷०८० को गाउँसभाबाट विसं विसं २०७९ असार ९ गते र १० गते बसेको बैठकले नयाँ गाडी भाडादर कायम गरेको थियो । पेट्रोलको मूल्य बढेको, बाढीले सडक अवरूद्ध गरेको भन्दै नयाँ भाडादर लागू गरिएको थिएन । गाडी भाडाको विषयलाई लिएर समाचार प्रकाशित भएपछि सोमबारदेखि नै असारको बैठकले तोकेको भाडादर कार्यान्वयन गरेको खप्तडछान्ना–४ का पुष्पराज रोकायाले बताउनुभयो । नयाँ भाडा दरअनुसार तमैलदेखि गोटखोलाको ७५ रूपैयाँ, खोलामोरासम्म रू ९०, कुचेखोला रू एक सय, ऐँचेलीबगर रू एक सय २५, छेलोउचाउने रू एक सय ५०, पसलबगर रू एक सय ६०, घाँटखोलाको रू एक सय ७५, कालुखेती रू दुई सय २५, छात्रवष्ठी रू दुई सय ९०, भालुवाङ रू तीन सय २० र गडराडसम्मको रू तीन सय ९० तोकिएको निर्णय कार्यान्वयन आएको हो ।