कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट जितेर आए पनि यहाँको गरिबी, भोक, रोग र अशिक्षाविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने जोड दिएका हुन् । बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा दल वा सरकारविरुद्ध नभई निर्वाचित सबै जनप्रतिनिधिहरूले सबै खाले चुनौतीसँग जुध्नु आजको आवश्यकता रहेको जनाउनुभयो । प्रदेश निर्माणमा अरूलाई दोष दिने छुट नभएकाले विधायकहरूले राम्रो ऐन, कानून बनाउनुपर्नेमा जोड दिँदै उहाँले जननिर्वाचित ज्येष्ठ सदस्यसहित सबै प्रदेशसभा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकाले यो कार्यकाललाई अझ बढी परिणाममुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताउनुभयो । कर्णालीमा विकास गर्नेभन्दा खाने मनोविज्ञान भएकाले अब सही सन्देश दिनुपर्ने भन्दै नवनिर्वाचित प्रदेशसभा सदस्यलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।