पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रेल्वे कम्पनीले नदिएको भन्दै अहिले बर्दिबासका बासिन्दा रेल्वे स्टेसन निर्माणमा अवरोध गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीय र रेल्वे कम्पनीबीच भएको समझौताका आधारमा मुखाब्जा पाउनुपर्ने स्थानीयको माग छ । पुरानो खोल्सी कुलोदेखि पश्चिमको जग्गाको मूल्याङ्कन प्रतिकट्ठा रु १५ लाखको दर भए पनि भुक्तानी प्रतिकट्ठा रु १० लाखको दरले सादा (खाली) कागजमा सही गराई मुआब्जा दिएपछि मुआब्जा विवाद उत्पन्न भएको स्थानीय जग्गाधनी शङ्कर फुँयालले बताउनुभयो । स्थानीय किसान निरज अधिकारीका अनुसार २०२२ सालको सर्वे नापीअनुसार खोल्सी निर्धारण गरी सोभन्दा पश्चिमको जग्गाको मुआब्जा १५ लाख प्रतिकट्ठाको दरले दिने सम्झौता भएको थियो । रेल्वे स्टेसन समेतको निर्माण स्थलमा परेको जग्गा प्राप्तिको गर्ने प्रयोजनका लागि मुआब्जा पाउनुपर्ने जग्गाधनीहरूले मुआब्जा निर्धारण समितिले उल्लेख गरेको खोल्सी पैनी र बर्दिवास नगरपालिकाले उल्लेख गरेको खौल्सी पैनी भन्ने स्थान फरक परेको बताएका छन् । बर्दिवास नगरपालिकाले निर्धाण गरेको खोल्सी पैनी स्थानलाई आधार मानी बढी मूल्यमा मुआब्जा पाउनुपर्ने माग गरेको उनीहरूको माग छ ।
