पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो । मध्यपहाडका २६ जिल्ला जोड्ने आयोजनामा जम्मा पुल एक सय ३७ रहेकामा हालसम्म ९३ पुल सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । बाँकी अवधिमा १९ पुलको ठेक्का आह्वान गर्नुपर्नेमा चालू आवमा नै ठेक्का आह्वान गरेर निर्माणमा जाने आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो । निर्माणाधीन पुल २५ मध्ये पनि कतिपय पुल सम्पन्न हुने अवस्थामा पुग्न लागेको उहाँको भनाइ थियो । सूचना अधिकारी सुरजले भन्नुभयो, “यो आवमा १८ पुल निर्माण गरिसक्ने लक्ष्य छ ।” ठूला पुल बन्न लामो समय लाग्ने भए पनि अहिले सो राजमार्गमा निर्माणमा जानुपर्ने ठूला सडक नभएको र अहिले बनाउन बाँकीमा पनि लामो लामो पुल नभएकाले राम्रो काम गर्नसक्ने निर्माण कम्पनी आएमा एकै याममा सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी सुरजले भन्नुभयो, “साना २०÷२५ मिटर लामा पुल भएकाले एकै याममा सकिन्छ ।” निर्माण व्यवसायीले काम सरासर नगर्दा मात्रै लामो समय लाग्ने हुन्छ । थपिएको अवधि असार मसान्तसम्म भने सडक र पुल दुवैका लागि पर्याप्त नभएको र अझै पनि कतिपय सडक खण्डमा रेखाङ्कन टुङ्गो लगाउन बाँकी सूचना अधिकारी सुरजले उल्लेख गर्नुभयो ।
