पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थियो । देश दौडाहाका क्रममा जिल्लाका नौवटा कार्यक्रम सकेर काठमाडौँ भित्रिएको नेपथ्यले भृकुटीमण्डपमा झण्डै पाँच हजार सङ्गीत पारखीलाई मज्जाले झुमायो । नेपथ्यका नायक एवं मुख्य गायक अमृत गुरुङले दर्शकले भरिएको भृकुटीमण्डपमा राष्ट्रिय भावनाले ओतप्रोत तथा सदावहार पुराना र चर्चित लोकपप गीत प्रस्तुत गर्नुभयो । उहाँ सङ्गीतको दुनियाँमा छुट्टै ब्याण्ड लोकपप सङ्गीतका साथ दर्शकसामु ३३ वर्षदेखि सक्रिय हुनुहुन्छ । देश–विदेशमा नेपथ्यको छुट्टै चाम छ । चिसो मौसममा प्रस्तुत उहाँका गीतमा दर्शक धुलो उडाएरै नाचे । त्यसो त गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको हुन्छ । आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकले भरपूर साथ दिए । दमदार प्रस्तुति भन्दै दर्शकले तारिफ गरे । दर्शकले गुरुङका हरेक गीत पुनः सुन्न चाहे । नेपथ्य ब्याण्डको प्रसुस्तीको मजा लिन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी सरिक हुनुहुन्थ्यो । ओली र थापाले त कार्यक्रम अवधिभर साथ दिनुभयो ।
