नदीको बहाव परिवर्तन हुँदा खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाएका छन् । मधेश प्रदेशको धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका भएर बग्ने जमुनी नदीले आफ्नो बहाव परिवर्तन गर्दा नदीको सिमाना नै भारततर्फ गएपछि एक दर्जन बढी किसानले खेतीयोग्य जग्गा गुमाउनु परेको थियो । अहिले ती किसान गुमाएको जग्गा फिर्ता पाई पुनः उपभोग गर्न पाउँदा निकै खुसी भएका छन् । मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने सीमा स्तम्भ नं २८८ देखि २८९÷८ वरिपरिको जग्गा जमुनी नदीले बहाव परिवर्तन गर्दा नदीको सीमाना भारततर्फ पर्न गएको जग्गा फिर्ता हुने आससमेत मारेका किसान पुनः आफ्नो जग्गा उपभोग गर्न पाउँदा निकै खुसी भएका हुन् । नेपाल तथा भारत दुवैतर्फका सीमा सुरक्षा बलको उपस्थितिमा दुवैतर्फका किसानले आफ्नो लालपुर्जा अनुसारको जग्गा उपभोग गर्न पाउने भनि यही पुस १२ गते निर्णय भएपछि किसानले गुमाएको जग्गा फिर्ता पाएका हुन् । मुखियापट्टी गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले दुवैतर्फका सीमा सुरक्षा बलको उपस्थितिमा भएको निर्णयबाट किसानले जग्गा फिर्ता पाएको बताउनुभयो । गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो, “आफूले कर तिरेको जमिन पूर्ण रूपमा उपभोग गर्न पाउनुपर्छ भन्ने फियान नेपालको प्रयास सफल भएको छ, यसमा नेपाल तथा भारतका सीमा सुरक्षाकर्मीको पनि साथ सहयोग रह्यो ।”
