झापाको भद्रपुर नगरपालिका–२ स्थित महाभारतकालीन ऐतिहासिकस्थल किचकबध पूर्वाधार विकासको पर्खाइमा छ । नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक बन्नसक्ने पर्याप्त सम्भावना बोकेको किचकबध यतिबेला पूर्वाधार विकासको पर्खाइमा रहेको हो । किचकबधलाई झापामा मात्र नभई मुलुककै उत्कृष्ट गन्तव्य बनाउन रू एक अर्ब ५३ करोड ६० लाख बराबरको गुरुयोजना निर्माण गरिएको किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले जानकारी दिनुभयो । गुरुयोजना पुरातात्विक विभाग र पर्यटन मन्त्रालयमा पेस गरिएको छ । “हामीले गुरुयोजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “तर बजेट अभावमा काम गर्न सकिएको छैन ।” घेराबार, पूर्वाधार निर्माण, जग्गा खरिद, पार्किङ, मठ, मन्दिरको स्तरोन्नति, वनभोजस्थल निर्माण, बगैँचा, दृश्यावलोकन स्तम्भलगायतका विषयलाई समेटेर गुरुयोजना निर्माण गरिएको उहाँले बताउनुभयो । “यहाँको ऐतिहासिकताको संरक्षण गर्दै उत्कृष्ट पर्यटकीयस्थल बनाउने योजना छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म रु दुई/तीन करोडको काम मात्र भएको छ ।” करिब १० बिघा क्षेत्रफलमा किचकबध फैलिएको छ । किचकबधको उत्तरतर्फ रहेको खोलाको बगरको करिब १० बिघा ऐलानी जग्गासमेत संरक्षण समितिकै मातहतमा रहेको छ भने सो क्षेत्रमा वृक्षरोपण गरिएको छ । पोखरी निर्माणका लागि पश्चिमतर्फको थप २० बिघा जमिन खरिद गर्ने लक्ष्य रहेको संरक्षण समितिका सचिव मदन कँडेलले बताउनुभयो