चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ । पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले आज यहाँ आयोजित समारोहमा उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । चीनमा रहँदा नेपाल–चीन सम्बन्ध विकसित गर्ने सम्बन्धमा भएका द्विपक्षीय भेटघाट, छलफल, सहयोग र सम्झौतासम्बन्धी देखेको, भोगको र अनुभव गरेका विषय स्पष्टरूपमा कृतिमा समावेश गर्नुभएको छ । पुस्तकमा कूटनीतिक यात्रा, चीनबारे अनुभव र बुझाइ, माओको उदय र प्रभाव, एक चीन नीति, कालापानीबारे चासो, पारवहन सन्धिको चासो, राजा वीरेन्द्रको चीन भ्रमण, चिनियाँ प्रधानन्त्री झु रुङ जीको नेपाल भ्रमण तथा आर्थिक कूटनीति र मगन्ते प्रवृत्तिलगायत शीर्षकमा विविध विषय समेटिएको छ । उहाँ विसं २०५५ कात्तिक १ देखि २०५९ माघ १५ गतेसम्म चीनका लागि राजदूत हुनुहुन्थ्यो । पूर्वराजदूत आचार्यले आफ्नो पुस्तक स्व राजा वीरेन्द्र तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विपी कोइरालाप्रति समर्पित गर्नुभएको उल्लेख छ । बेइजिङमा चार वर्ष रहँदा उहाँलाई दुई राजा र पाँचवटा सरकारको प्रतिनिधि भई काम गर्ने अवसर जुटेको थियो । नेपाल चीनसँग सीमा जोडिएका १४ मध्ये एक छिमेकी राष्ट्र हो । शान्त कूटनीतिमा विश्वास गर्ने चीन र नेपालबीचको सम्बन्ध सदियौँदेखि मित्रवत् रहँदै आएको छ ।